नयां विचारको प्रयोगमा नेकपा(माओवादी) सफल रहेको निश्कर्ष
नेपाल कम्युनिष्ट पार्टी (माओवादी)
केन्द्रीय समिति
प्रेस विज्ञप्ति
यही कार्तिक २६ गते ने.क.पा.(माओवादी)को बैठक अध्यक्ष क.प्रचण्डको अध्यक्षतामा सफलतापूर्वक समापन भयो । बैठकले लिएका निर्णयहरुको सारसंक्षेप सार्वजनिक गर्न यो विज्ञप्ति जारी गरिएको छ ।
१. बैठकको प्रारम्भमा जनयुद्धका महान् अमर शहिदहरुका साथै जनआन्दोलनका तमाम ज्ञात-अज्ञात शहिदहरुप्रति मौनधारणसहित भावपूर्ण श्रद्धाञ्जली अर्पण गरियो ।
२. सामान्यतः कामीडा“डा बैठक यता र विशेषतः कार्तिक २२ गतेको ऐतिहासिक सहमतिपछिको स्थितिबारे बैठकमा सबै क्षेत्रीय व्युरोका इञ्चार्जहरुबाट संक्षिप्त रिपोर्टिङ भयो ।
- रिपोर्टको सारले गत बैठकका निर्णयहरु उत्साहपूर्ण ढंगले कार्यान्वयन भइरहेको तथा २२ को सहमतिले जनसमुदायमा शान्ति र परिवर्तनको नया“ उत्साह जगाएको स्पष्ट गर्यो । अगाडि चुनौतिहरु भए पनि यो सहमति ऐतिहासिक प्रकृतिको रहेको तथा पार्टी आफ्ना नया“ विचारको प्रयोगमा सफल रहेको निष्कर्षमा सिंगो केन्द्रीय समिति एकमत रह्यो ।
३. बैठकमा अध्यक्ष क.प्रचण्डबाट राजनीतिक र संगठनात्मक प्रस्ताव प्रस्तुत भयो । वामपन्थी र गैर वामपन्थी गणतन्त्रवादीहरुका बीचमा नया“ धुव्रीकरण र मोर्चाबन्दीको ऐतिहासिक आवश्यकतामा विशेष जोड दिएको उक्त राजनैतिक प्रस्तावले त्यसका लागि ने.क.पा.-माओवादी)ले लिनु पर्ने नया“ नीति र खेल्नु पर्ने नया“ भूमिकाबारे चर्चा गरेको छ । यसका साथै बदलिएको परिस्थितिअनुसार युद्धकालीन संगठनात्मक संरचनालाई संविधानसभाको निर्वाचन अनुकूल तुल्याउने र नया“ संगठनात्मक कार्यशैलीको विकास गर्ने कुरामा पनि प्रस्तावले जोड दिएको छ । प्रस्तावमा कार्तिक २२ को सहमतिका विरुद्ध प्रतिगामी र प्रतिक्रियावादीहरुबाट सम्भावित षड्यन्त्रको चर्चा गर्दै त्यसका विरुद्ध सतर्क रहन तथा सहमति कार्यान्वयनमा दृढतापूर्वक अगाडि बढ्न अपिल गरिएको छ ।
४. बैठकले जनमुक्ति सेनालाई अस्थाई शिविरमा केन्द्रित गर्ने तथा संगठनात्मक संरचनामा हेरफेरसंग सम्बन्धित विषयमा केन्द्रीय कार्यालयलाई आवश्यक सुझावका लागि क्रमशः क.पासाङ्ग र क.बादलको नेतृत्वमा छुट्टाछुट्टै कार्यदल गठन गरिएको छ ।
५. बैठकले पार्टीको आदिवासी, उत्पीडित जनजाति, मधेसी, दलित, महिलासंग सम्बन्धित आत्मनिर्णयको अधिकार, स्वशासन र विशेषाधिकारको नीतिमा कुनै परिवर्तन नगरेको कुरा स्पष्ट गरेको छ ।
६. बैठकमा प्रकाशन, प्रचार र प्रसार सम्बन्धित विषयमा पनि महत्वपूर्ण छलफल भएको थियो ।
अन्त्यमा निर्णयहरुको महत्वबारे संक्षिप्त मन्तव्यसहित अध्यक्ष क.प्रचण्डबाट बैठकको समापन गरियो ।
मिति- २७ कार्तिक २०६३
प्रचण्ड
अध्यक्ष
केन्द्रीय समिति
ने.क.पा.-माओवादी)
Where ever you are in the world. We will be with you.
Please, share your ups & downs with us. :-PNN
